ताल्चाको तोड
गत साता कीर्तिपुरको क्रिकेट मैदानमा नेपाल र यूएईबीच एसीसी क्रिकेटको सेमिफाइनल खेल हेर्न पुगियो। नढाँटी भन्दा यसअघि मैले मैदानमै गएर क्रिकेट हेरेको थिइनँ। त्यस दिन मैदानमा दर्शकको संख्या उल्लेख्य नै थियो। अनुमानित १८ हजारजति मानिस त्यहाँ आफ्नो देशको जित हेर्नका लागि उत्साहित थिए। कसैले अनुहारमा नेपालको झन्डा पोतेका थिए, कसैले हातमा नेपालको झन्डा हल्लाइरहेका थिए, कोही झ्याली पिट्दै थिए, कोही ड्रम बजाइरहेका थिए, कोही अनवरत थपडी बजाइरहेका थिए र सबै करतल ध्वनिमा एउटै शब्द दोहोर्याइरहेका थिए : 'नेपाल, नेपाल, नेपाल !'
आफूभन्दा बलिया, अनुभवी र सुविधासम्पन्न खेलाडीले भरिएको यूएईसँगको त्यो खेल नेपालले जित्यो। खेल मैदानमा उपस्थित भएका १८ हजार दर्शक त मात्र प्रतिनिधि थिए, देशभरका अरू नेपालीहरूका, जो त्यहाँ नभए पनि नेपालले जितोस् भनेर दिनभर उत्साहित रहेका थिए। यसले क्रिकेट खेलप्रति हाम्रो बढ्दो रुचि त प्रस्ट पार्छ पार्छ तर अप्रत्यक्ष रूपमा देख्न सक्ने हो भने एउटा अर्को ठूलो पाठ हामीलाई पढाएको छ।
हामी र हाम्रो एकता कतै गएको छैन रहेछ। कारण पाउने हो भने हामी अझै पनि मुट्ठी भएर कस्सिन सक्दा रहेछौँ। कस्सिएको मुट्ठीमा निकै ठूलो तागत हुन्छ। तर, केही स्वार्थी मानिसहरूले त्यो मुट्ठीलाई आन्दोलनका नाराहरूमा उचालिने बनाइदिएका रहेछन्। खेल मैदानको त्यो भीडमा कुनै विभाजन थिएन। त्यहाँ न कोही पहाडी थियो, न कोही मधेसी। न कोही जनजाति थिए, न कोही दलित, न कोही सर्वहारा, न कोही बुर्जुवा, न कोही सुकिलामुकिला, न कोही धूलामैला। त्यहाँ सबै नेपाली थिए, मात्र नेपाली, आफ्नो वास्तविक अनुहार र परचियका साथ। अटेसमटेस गरेर कुममा कुम जुधाएर बसेकाहरू सबै एक थिए। हामी त एकै रहेछौँ भन्ने त्यो सुखद अनुभूतिले निकै दिनदेखि बिथोलिएको मेरो दिमागलाई शीतल बनायो। राजनीतिका नाममा सत्ताको पासा खेल्न थर्की फिँजाएर बसेका शकुनिहरूले मात्र हामीलाई थरीथरी बहानामा फुटाउने रहेछन्, गोटीहरूलाई सारेजस्तो घरी यता र घरी उता सार्ने रहेछन्, नत्र हामीमा कुनै अनेकता छैन भन्ने कुरा एकपटक फेरि क्रिकेट खेल मैदानमा बलियो भयो।
धर्म, राजनीति र भिन्नभिन्न वादका एउटै मात्र निहित स्वार्थ हुन्छ, फुटाउने र राज गर्ने। यो सदियौँ पुरानो तरिका अझै पनि किन हामी चल्न दिन्छौँ ? आजका युगका हामी त निकै विवेकशील र सचेत प्राणी हौँ। तर, दुःखको कुरा के भने मानिसको ज्ञान र चेतनाको विकास राम्ररी नभएका बेलामा केही टाठाबाठा धूर्तहरूले सुरु गरेको यो मूलमन्त्र आज पनि कायम छ। त्यसलाई जरोबाट उखेलेर मिल्क्याउने हामीले नै हो। त्यसका लागि पहल गर्न सायद अझै पनि ढिला भएको छैन। खरानीको थुप्रोभित्र भुंग्रोको अवशेष बाँकी रहुन्जेल आशाको उज्यालो मर्दैन। क्रिकेट मैदानमा त त्यसको राँको नै बलेको थियो। उपयोग गरेको खण्डमा राँकोले न्यानो पनि दिन्छ, उज्यालो पनि दिन्छ। दुरुपयोग गरेको अवस्थामा पोल्छ, डढाउँछ, नाश गर्छ। के गर्ने भन्ने कुरा हाम्रै हातमा छ। नभएको समस्यामा हामीलाई अलमल्याउन खोज्नेहरूलाई फिल हुन नदिनु हाम्रै हातमा छ, अरूको होइन।
ओशोले कुनै किताबमा एउटा सूफी लोककथाको उल्लेख गरेका छन्, जुन आज हाम्रा लागि उपयोगी हुन सक्छ। कुनै एक राजालाई चार जना धुरन्धर विद्वान् प्रत्यासीहरूबाट प्रधानमन्त्री छान्नु थियो। राजाले चारै जनालाई एउटा कोठामा भेला गरेर भनेछन्, 'तपाईंहरूलाई म यो कोठामा थुनेर जान्छु। मैले बाहिरबाट ढोका बन्द गरेपछि यहाँ भित्र भएको यो नम्बरवाला ताल्चा बन्द हुन्छ। यसलाई खोल्ने र्फमुला पत्ता लगाएर जो पहिले बाहिर निस्कन्छ, ऊ नै प्रधानमन्त्रीका लागि योग्य ठहरिनेछ।' राजा बाहिर जानासाथ तीन जना कागज-कलम लिएर हिसाब गर्न बसिहाले। सबैभन्दा पहिले कसले त्यो ताल्चाको तोड फेला पार्ने भन्ने होड सुरु भयो। चौथो प्रत्यासी भने शान्त भावमा आँखा चिम्लेर सोच्न थाल्यो। अरूहरू जटिल गणितीय सूत्रहरू केलाउँदै गर्दा ऊ केही बेरमा जुरुक्क उठेर ढोकातिर गयो र ताल्चालाई तान्यो। ताल्चा बन्द नै थिएन, प्याट्ट खुल्यो र ऊ बाहिर निस्क्यो। समस्याको समाधानका लागि जानेजतिका विद्वता लगाइरहेका बाँकी तीन जनाले त्यो थाहा पनि पाएनन्। राजा चौथो मान्छेलाई लिएर भित्र आएर आफूले प्रधानमन्त्री पाइसकेको बताएर अरू सबैलाई घर जान भने। सबै विस्मित भए। समस्याको समाधान गर्न थाल्नुभन्दा पहिले समस्या वास्तवमै छ कि छैन भन्ने कुरा निक्र्यौल गर्नु आवश्यक हुन्छ र त्यही नै बुद्धिमानी पनि हो।
अहिले हाम्रा राजनीतिकर्मीहरू पनि बन्द नभएको ताल्चाको तोड खोज्न हिसाकिताब गररिहेका छन् र हामी कहिले त्यो खुल्छ र हामीले निकास पाउने हो भनेर कुररिहेका छौँ।
No comments:
Post a Comment