Thursday, April 11, 2013

त्यो बलि चढेको पाडो


त्यो बलि चढेको पाडो


काठमाडौँलाई बाईबाई गरेको तेस्रो दिन सहकर्मी उपहारजंग शाहसँग पोखरा हुँदै पाल्पाको भैरवस्थान मन्दिर पुगियो। मनोकांक्षा पूरा भएपछि मन्दिरमा चामलको पीठोले बनेको रोटदेखि पशुबलि चढाउनेको भीड लाग्दो रहेछ। हामी पनि त्यसै भीडमा मिसियौँ र भैरवको मूर्तिमा पाँच रुपियाँ चढाएर ओर्लियाँै।

मन्दिर परिसरको चोकको कुनामा एक जना मानिस बडेमाको खुकुरी ढुंगामा घोटेर धार लगाउँदै थिए। चोकको बीच भागमा एउटा सानो पाडो बाँधिएको थियो। पाडो र मन्दिरलाई एउटै प|mेममा पारी फोटो खिच्ने उद्देश्यले क्यामरालाई पाडोनजिक लगेको मात्र थिएँ, पाडो त डोरी नै छिनालुँलाजस्तो गरी तन्किएर मलाई हेर्दै नराम्रोसँग करायो। मैले 'एंगल' चेन्ज गरीगरी क्यामराको बटन दबाएँ। पाडो लगातार मलाई हेरेर कराइरह्यो। मैले पाडोको टाउको सुमसुम्याएँ, उसको आँखाबाट बगेको आँसुले गालासम्म डोब बनिसकेको थियो।

पाडो डोर्‍याएर ल्याउनेले मेरो हर्कत नियालिरहेका रहेछन्। नजिक आएर भने, "पाडो भोको छ, तपाईंसँग खानेकुरा मागेको।" मसँग पाडोलाई खुवाउन केही चीज थिएन, मैले उसको टाउको सुमसुम्याइरहेँ। यत्तिकैमा खुकुरी लिएका मानिस नजिकै आए। पाडो काटेको हेर्ने साहस ममा थिएन।

भैरवस्थान मन्दिरमा बलि दिँदा मन्दिरका घन्टहरू बजाउने चलन रहेछ। म जुत्ताको तुना कस्दै थिएँ। केही समय जोडतोडले बजेका घन्टका आवाज एकाएक बन्द भए। घन्टको आवाजसँगै बिचरा पाडोको इहलीला समाप्त भएको थियो। मन्दिरबाट ओर्लेपछि बाटोमा भैरवलाई रोट चढाउन स्याङ्जाबाट आएकी एक दिदीसँग भेट भयो। एक किलोको रोटले ढाकिएको पूजा थाली थियो, उनको हातमा। उनको अनुहारमा मनोकांक्षा पूरा भएको चमक देख्न सकिन्थ्यो। आखिर भैरवले रोट मात्र चढाउनेको पनि मनोकांक्षा पूरा गरििदँदा रहेछन्। मानिसहरू किन पशुबलिको भाकल गर्दा हुन् ? यात्राभर िमेरो मनमा त्यही प्रश्न खेलिरह्यो। त्यो निर्दोष पाडोको क्रन्दन आँखामा झलझली नाचिरह्यो।

No comments:

Post a Comment